राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने



१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।

राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिने भएका छन् ।

राष्ट्रिय जनगणना पूरा भएकै वर्ष कृषि गणना गरिने निर्देशक कार्कीले बताए । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०/१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।

दुई दर्जन प्रश्न, के–के विवरण भरिन्छ ?

कृषि गणनाका दौरान दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने कार्कीले जानकारी दिए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए । नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने कार्कीले बताए ।

कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिएपनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिंदैन ।

साढे ३ लाख परिवारबाट विवरण लिइने

कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने छ । नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् ।

‘जनगणनामा हरेक घरमा पुग्ने गरि गणक पठाइन्छ,’ कार्कीले अनलाइनखबरसँग भने, ‘कृषि गणनामा ठूलो स्तरको नमुना लिएर त्यहाँबाट तथ्यांक संकलन गरिन्छ ।’ त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिने भएको छ । यस क्रममा मुलुकका हरेक क्षेत्र समेट्ने गरी नमुना छनोट गर्ने विभागको भनाइ छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ ।
विगतमा सामान्यतया वडालाई एक क्षेत्र मानेर नमुना छनोट गरी विवरण संकलन गरिएको थियो । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् ।

वैशाखदेखि गणना, ४५ दिनमा सकिने

तथ्यांक विभागले २५ चैतभित्र गणक तथा सुपरीवेक्षकहरुको भर्ना सकाउने छ । २५ चैतबाट उनीहरुका लागि एक साता लामो तालिम सञ्चालन गरिन्छ । त्यसपछि फिल्डमा खटाउने तयारी विभागको छ ।

विभागले ४५ दिनको समय राखेर गणकहरुलाई फिल्डमा खटाउने भएको छ । गणकहरुले २५ जेठमा बिदा पाउने भएकाले त्यस अगाडि नै गणनाको काम पूरा गर्ने तयारी विभागको छ ।
कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ । यसमध्ये सबैभन्दा धेरै गणकहरुको पारिश्रमिकमा हुनेछ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखेर तथ्यांकहरु मात्र सार्वजनिक गर्नेछ ।

Share This :