नेपालको कृषि क्षेत्रको विवरण जस्तैः कृषि चलन, खेतीपाती गरिएका कित्ताहरुको क्षेत्रफल, विभिन्न बालीनालीको क्षेत्रफल र उत्पादन, पशुपक्षीको संख्या, सिँचाई, कृषि सामग्रीको प्रयोग, माछापालन, वनवनेलो आदि विवरणहरु संकलन, प्रशोधन तथा प्रकाशन गर्ने समग्र कार्य नै राष्ट्रिय कृषि गणना हो । नेपालमा वि.सं. २०१८ साल देखि हरेक दश दश बर्षमा कृषि गणना सञ्चालन भई आएको छ । यस क्रमको सातौ राष्ट्रिय कृषिगणना २०७८ यहि चैत्र, वैशाख र जेठमा संचालन हुँदैछ ।
प्रथमतः राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पारिवारिक विवरण संकलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको संख्या संकलन गरिएको थियो । त्यही लगतको आधारमा ७७ जिल्लाको ७५३ गाँउपालिका र नगरपालिकाहरुमा वैज्ञानिक छनौट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारहरुको सूची अध्यावधिक गरी निश्चित मात्रमा कृषक परिवार छानि छानिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषिचलन सम्वन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा संचालन भएका कृषिकार्यको विवरण संकलन गरिनेछ ।
राष्ट्रिय जनगणनामा २०७८ जस्तै कृषि गणनामा सवै घरपरिवारको गणना नभई ७५३ वटै स्थानीय तहहरुको प्रतिनिधित्व हुने तथा पुर्ण विवरण आउने गरी तथ्याङ्कीय विधिबाट छानिएका करिव ३५०००० (तीन लाख पचास हजार) कृषक घरपरिवारको मात्र पुर्ण गणना हुन्छ । जनणनामा करिव ४१ लाख कृषक परिवारको सुचिकरण भएको थियो भने, कृषि गणनामा जनगणना बाट प्राप्त कृषक परिवार मध्ये करिव ३५०००० कृषक परिवार वैज्ञानिक विधिबाट छनोट गरी विस्तृत विवरण संकलन गरिन्छ ।
यहि २०७८ चैत्र १ गते सवै ७७ वटै जिल्लाहरुमा कृषिगणना कार्यालय स्थापना गरी आगामि २०७९ को बैशाख ६ र जेठ १९ सम्म सवै ७५३ स्थानीय तहहरुमा छनोटमा परेका कृषक परिवारबाट कृषिगणनाको तथ्याङ्क संकलन कार्य सञ्चालन हुनेछ ।
राष्ट्रिय कृषिगणना अन्तर्गत कृषक परिवार प्रश्नावली मार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताहरुको विवरण र सिँचाई, कित्ता अनुसारका भू‒उपयोग, कित्ता अनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउविजन विषादि तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरी पालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, , खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक कृयाकलाप सम्बन्धी विवरणहरु संकलन गरिने छन् ।
पारिवारिक कृषि कार्य भनेको मुख्यतः परिवारको उपभोगको लागि अन्न, तरकारी, फलफूल, पशुपन्छीपालन, आदिको कृयाकलापलाई जनाउँछ । व्यावसायिक कृषि भन्नाले दर्ता गरेका वा नगरेका मुख्यतः विक्री प्रयोजनको लागि गरिएका खेतीपाती, पशुपन्छीपालन, माछापालन आदिलाई जनाउँछ । जस्तैः व्यवसायिक रुपमा गरिएका तरकारी खेती, फलफूल खेती, ठूलो संख्या गरिएको कखुरापालन, बाख्रापालन, दूध तथा दूधजन्य उत्पादन बिक्रिको लागि गरिएको गाई भैँसीपालन, आदि पर्दछन् । त्यस्तै संस्थागत कृषिकार्य भन्नाले सरकारी, अर्धसरकारी वा गैरसरकारी फार्महरु पर्दछन् । यसमा सहकारी व्यवस्थापन अन्तर्गत संचालित कृषि फार्महरु पनि पर्दछन् ।
कृषिगणनाको फिल्डकार्यमा तथ्याङ्क संकलनको लागि छानिएका गणना क्षेत्रहरुमा ५००० भन्दा बढी गणकहरु तथ्याङ्क संकलनको लागि घरघरमा आउँछन् । यस कार्यको सुपरिवेक्षण तथा सहजिकरणको लागि करिव १३०० सुपरिवेक्षकहरु फिण्ड कार्यमा गणकसंगै खटिनेछन् जसमा महिला कर्मचारीहरुको उल्लेख्य प्रतिशतमा सहभागिता हुनेछ । कृषि गणनाको फिण्ड कार्यको लागि ७७ जिल्लामा अस्थायी प्रदेश तथा जिल्ला कृषि गणना कार्यालयहरु खुल्नेछन् ।
तथ्याङ्क संकलनमा मिश्रित विधि (कागज र कलम सहितको अन्तर्वाता विधि र ट्याबलेटको प्रयोग गरी) प्रयोग हुनेछ । यी दुबै माध्यमबाट संकलित तथ्याङ्क केन्द्रमा एकत्रित र प्रविष्टि भएपछि परम्परागत र नयाँ प्रविधिकै आधारमा, प्रशोधन, तालिकीकरण, विश्लेषण गरिने छ ।
राष्ट्रिय कृषिगणनाको नतिजा गा.पा., न.पा., प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा समेत उपलब्ध हुने भएकोले संघीय, प्रादेशिक तथा स्थानीय निकायको योजना तर्जुमा, अनुगमन, मूल्यांकन गर्न सघाउ पुग्दछ । विशेषतः कृषि क्षेत्रको समस्या र कृषकका समस्या पहिचान र तदनुरुपको कार्यक्रमको तर्जुमा गर्न सहयोग पुग्दछ । यसको अतिरिक्त नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, संचार जगत आदिको लागि पनि उपयोगी सूचना उपलब्ध हुनेछ ।
नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाईृ ध्यानमा राखी महिलाको अगुवाईमा भइरहेका खेतीपातीको विवरण संकलन गरिने छ । महिलाहरुको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषिकार्य सम्बन्धी निणर्यमा सहभागिता, महिलाले कृषिकार्यमा दिएको समय आदि विवरणहरु संकलन गरिनेछ । साथै अन्तर्वार्ता कार्यमा महिला सुपरिवेक्षक र गणकहरुको उल्लेख्य मात्रमा सहभागी हुनेछन् । कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषण सहितको एक छुट्टै प्रतिवेदन समेट प्रकाशन गरिनेछ । यसका साथै संयुक्त राष्ट्र संघको दीगो विकास लक्षका सूचकहरु विशेषतः भोकमरी, खाद्य असुरक्षा र ग्रामीण गरिवीको अन्त्य संग सम्वन्धित तथ्यांकीय विवरणको छुट्टै विश्लेषण गरिनेछ । साथै सरकारको पन्ध्रौं योजनाको उद्देश्य, लक्ष, र नीतिलाई पनि प्राथमिकतामा राखी कृषिगणनाको अवधारणा, परिभाषा, र निर्देशिका तयार गरिएकोले सोही बमोजिम नतिजा विश्लेषण गरिनेछ ।
कोभिड–१९ को महामारीले आक्रान्त क्षेत्रहरुमध्ये कृषि पनि एक हो । बन्दाबन्दी र पर्यटकको कमीले तरकारी, फलफूल, मासु, फल, दूधको बजार खस्किएर कृषक मारमा परेको विषयमा पनि तथ्याङ्क संकलन गरिनेछ । अर्को, विदेशमा रोजगारी गुमाएर तथा नेपालमै पनि शहरी क्षेत्रमा रोजगारी गुमाएर धेरै युवाहरु गाउँ फर्किएकाले कृषिमा नयाँ सोचका साथ नयाँ रोजगारी सिर्जना गर्ने अवसर पनि मिल्ने भएको हुँदा त्यही अनुसारको योजना तर्जुमा गर्न सहयोग पुग्नेछ ।
स्थानिय निकायहरु गाउँपालिका, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष मेयर, उपमेयर, सदस्य, वडा अध्यक्ष, सदस्यहरुले अरु स्थानीय कार्यालयहरु वा निकायसंग समन्वय गर्न, गणनामा खटिने सुपरिवेक्षक तथा गणकहरुलाइ गणना क्षेत्र, वडाको सीमा पहिचान गर्न, समुदायको प्रश्नावली भर्न, कृषक परिवार पहिचान गर्न तथा कृषकहरुको भेला गरी कृषि गणनाको महत्व र प्रचार प्रसार गरी गुणस्तरीय तथ्याङ्क संकलन गर्न सहयोग गर्ने भूमिका रहनेछ ।
कृषिगणनाको नतिजा स्थानीय, प्रदेश तथा संघीय सरकार, अनुसन्धानकर्ता, शिक्षक, विध्यार्थी सवैका लागि योजना तर्जुमा, अनुगमन, मूल्यांकन, अध्ययन र अनुसन्धानका लागि महत्वपुर्ण हुने हुदाँ सहि विवरण उपलब्ध गराउनु छानिएका कृषक परिवारको दायित्व हुनेछ भने, कृषि गणनाको महत्व बुझाउने र प्रचार प्रसार गरी गुणस्तरिय तथ्याङ्क संकलन गर्न सहयोग पुर्र्याई कृषिगणना सफल पार्नु सवै समुदाय तथा सवै सर्वसाधारणको कर्तव्य हुनेछ ।
कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार ।